नेपालमा २०७२ सालमा नयाँ संविधान जारी भएसँगै राज्यको संरचना संघ, प्रदेश र स्थानीय तहमा विभाजन गरियो र यसले शिक्षा प्रशासनमा पनि व्यापक परिवर्तन ल्यायो। यस अघि जिल्ला स्तरमा शिक्षा व्यवस्थापनको प्रमुख निकायका रूपमा रहेका जिल्ला शिक्षा कार्यालयहरूले विद्यालय सञ्चालन तथा व्यवस्थापन, शिक्षक व्यवस्थापन, शैक्षिक कार्यक्रम तथा नीति कार्यान्वयन तथा अनुगमन जस्ता कार्यहरू प्रत्यक्ष रूपमा गर्दै आएका थिए, तर संघीयता लागू भएपछि २०७४ मा भएको स्थानीय तहको निर्वाचन पश्चात विद्यालय शिक्षाका अधिकारहरू मुख्यतः स्थानीय तहमा हस्तान्तरण गरिए। यसरी स्थानीय तहलाई विद्यालय शिक्षा सञ्चालनको प्रमुख जिम्मेवारी दिइएपछि, केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने, नीति तथा कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्ने तथा शैक्षिक तथ्यांक व्यवस्थापन गर्ने उद्देश्यले वि.सं. २०७५ सालमा शिक्षा विकास तथा समन्वय इकाइको स्थापना गरिएको हो।

शिक्षा विकास तथा समन्वय इकाइको मुख्य भूमिका शिक्षा प्रणालीमा प्रत्यक्ष नियन्त्रण गर्नु भन्दा पनि स्थानीय तहहरुसँग समन्वय र सहजीकरण गर्नु हो। यसले संघीय सरकारद्वारा तय गरिएका नीतिहरू, मापदण्डहरू र कार्यक्रमहरूलाई प्रदेश तथा स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने पुलको काम गर्छ। साथै, स्थानीय तहबाट प्राप्त सूचना, तथ्यांक र अनुभवलाई माथिल्लो तहसम्म पुर्याएर नीति निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ। यसरी हेर्दा शिक्षा विकास तथा समन्वय इकाइ शिक्षा प्रशासनको एउटा “मध्यस्थ निकाय” हो, जसले विभिन्न तहका सरकारबीच सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। यस इकाइको प्रमुख कार्यहरूमा शैक्षिक तथ्यांक संकलन, विश्लेषण र व्यवस्थापन अत्यन्त महत्वपूर्ण मानिन्छ। विद्यालयहरूको संख्या, विद्यार्थी भर्ना दर, शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधारको स्थिति, एस.इ.इ. र कक्षा १२ को परीक्षा संचालन तथा व्यवस्थापन, परीक्षा परिणाम लगायतका तथ्यांकहरू संकलन गरेर एकीकृत प्रणालीमा राख्ने काम गर्दछ । यस्ता तथ्यांकहरू नीति निर्माण, योजना तर्जुमा तथा अनुगमनका लागि अत्यन्त आवश्यक हुन्छन्। त्यसैगरी शिक्षा सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूको कार्यान्वयनमा पनि शिक्षा विकास तथा समन्वय इकाइले सहजीकरण गर्दछ।

शिक्षा विकास तथा समन्वय इकाइले अनुगमन र मूल्याङ्कनको क्षेत्रमा पनि महत्वपूर्ण जिम्मेवारी वहन गर्छ। स्थानीय तहहरूद्वारा सञ्चालन गरिएका शैक्षिक कार्यक्रमहरूको प्रगति, प्रभावकारिता र गुणस्तरको मूल्याङ्कन गर्न यसले नियमित रूपमा अनुगमन गर्दछ। यस क्रममा देखिएका समस्या, चुनौती तथा सुधारका सम्भावनाहरूको बारेमा प्रतिवेदन तयार गरी सम्बन्धित निकायहरूलाई सिफारिस गर्दछ। यसले शिक्षा प्रणालीलाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउन सहयोग पुर्याउँछ। शिक्षा विकास तथा समन्वय इकाइ नेपालको संघीय शासन व्यवस्थापछि विकसित गरिएको एक महत्वपूर्ण शैक्षिक प्रशासनिक संरचना हो, जसले शिक्षा क्षेत्रको व्यवस्थापनमा आएको संरचनात्मक परिवर्तनलाई व्यवहारमा उतार्ने काम गर्दछ । संरचनागत रूपमा हेर्दा, शिक्षा विकास तथा समन्वय इकाइ प्रत्येक जिल्लामा स्थापना गरिएको हुन्छ र यसमा एक प्रमुख सहित प्राविधिक तथा प्रशासनिक कर्मचारीहरू कार्यरत हुन्छन् । यद्यपि, यसको अधिकार क्षेत्र जिल्ला शिक्षा कार्यालयको जस्तो व्यापक नभएर सहजीकरण र समन्वयकारी हुनुका साथै स्थानीयतहलाई आवश्यक परामर्श, मार्गदर्शन र सहयोग प्रदान गर्छ।

समग्रमा, शिक्षा विकास तथा समन्वय इकाइ नेपालको संघीय शिक्षा प्रणालीको एक महत्वपूर्ण अंग हो, जसले नीति र कार्यान्वयनबीच पुलको काम गर्दै शिक्षा क्षेत्रमा समन्वय, सहजीकरण र गुणस्तर अभिवृद्धिमा योगदान पुर्याइरहेको छ। यद्यपि यसको भूमिका अझ सुदृढ र प्रभावकारी बनाउन आवश्यक सुधारहरू गर्नुपर्ने देखिन्छ। भविष्यमा यसको क्षमता विकास, स्रोत व्यवस्थापन तथा अधिकार स्पष्टिकरणमार्फत यसलाई अझ सक्षम बनाइएमा नेपालको शिक्षा प्रणालीलाई समावेशी, गुणस्तरीय र दिगो बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउन सक्नेछ ।